हुण्डी गर्दा १/२ हजारको फाइदा देख्नेहरुले हुण्डीको परिणाम (घाटा) के-के भईरहेको छ, पनि बुझ्नुहोस्

  • . वैदेशिक रोजगारमा जाँदा युवाले तिर्नुपर्ने लागत खर्च निरन्तर बढ्नुमा हुण्डीकै प्रत्यक्ष हात छ । (मानौ मलेसियामा कुनै युवाले हुण्डी गर्छ भने उक्त पैसा उताकै एजेन्टको हातमा हुन्छ । अब यता नेपालबाट बिदेशिन लागेको युवाले बैदेशिक रोजगारमा जान चर्को लागत बुझाउँदा उता हुण्डी गरेको पैसा बराबरकै यता जान लागेको युवाबाट उठाएको पैसासँग फर-फारक हुन्छ । बिदेस पठाउने क्रममा नेपालमा युवाले तिर्न पर्ने पैसानै विदेशबाट युवाले हुण्डी गरेको पैसामा हिसाब मिलाएर परिवारसम्म पुर्याईन्छ । वास्तवमा विदेशबाट युवाले पठाएको भनिएको पैसा नेपाल आएकै हुँदैन । 
  • २. हुण्डीको कारण म्यानपावरहरुले बिदेसबाट बिचौलियाहरुसंग डिमाण्ड किन्न सहज छ । डिमाण्ड किन्न सहज हुँदैनथियो भने अस्वस्थ प्रतिष्पर्धा बढ्दैन थियो । बैदेशिक रोजगारको विद्यमान बेथिति पनि कम हुन्थ्यो । (उदाहरण: एउटा म्यानपावरले एक जना सेक्युरिटी गार्ड युवालाई ‘युएई’ पठाउन अहिले विदेशका एजेन्टलाई ३ देखि ४ लाख पैसा पठाईरहेका छन् । त्यो पैसा उता (युएई)बाट हुण्डी गर्ने युवाहरुकै पैसाले मिलाउने हो । अन्यथा एजेन्टलाई तिर्ने प्रयोजनबाट उक्त पैसा ‘युएई’ पठाउन सम्भव हुँदैन । पैसा तिर्न सम्भव नहुँदा म्यानपावरले युएईका एजेन्टलाई पैसा तिर्न सक्दैनन् । पैसा तिर्न नसक्दा/नपर्दा नेपाली कामदार पठाउँदाको लागत आफै घट्छ । 
  • ३. हुण्डी हुँदैनथियो भने, सुन तस्करी हुँदैन थियो । हुण्डीको पैसा सम्बन्धित देशमा थुप्रिंदा त्यहि पैसाले तस्करले सुन खरिद गर्छन् । 
  • ४. हुण्डी हुँदैनथियो भने, भ्रष्ट नेताहरुले, ठेकेदारहरुले भ्रष्टाचार गरेको पैसा सहजै व्हाइट बनाउन सक्दैनथे ।
  • ५. हुण्डी हुँदैनथियो भने, देशमा अहिले आईरहेको रेमिट्यान्स दोब्बर जस्तै हुने थियो । जसले कारण देश बिकासमा अहिलेको तुलनामा अझै बिकास गर्न सम्भव हुने थियो । 
  1.  
  2. ६. हुण्डी कारोबारले देशको आधिकारिक आर्थिक च्यानलहरूलाई बाइपास गर्छ । जसले गर्दा औपचारिक वित्तीय संस्थाहरू मार्फत सङ्कलन गरिने कर र शुल्कहरूको सन्दर्भमा सरकारलाई राजस्वमा ठूलो नोक्सानी हुन्छ ।
  3. 7. कानुनी र नियामक चुनौतिहरू बढ्छन् । हुन्डीले देशको वित्तीय प्रणालीको कानुनी र नियामक ढाँचालाई बेथितिमा धकेल्छ । हुण्डीले आर्थिक लेनदेनहरूलाई प्रभावकारी रूपमा निगरानी र नियमन गर्न गाह्रो बनाउँछ । 
  4. 8. हुण्डीले देशको वित्तीय स्थायित्वलाई कमजोर बनाउँदै लैजान्छ । हुण्डीले देशको पुँजी अप्रत्यासित घटाउँछ र मुद्रा विनिमय दरहरूमा अस्थिरता निम्त्याउन सक्छ । जसको परिणाम देशको अर्थतन्त्रलाई हानि पुर्‍याउँछ ।
  5. 9. हुण्डीले राष्ट्रिय सुरक्षालाई समेत खतरामा पार्छ । 
  6. 10. हुण्डीको कारण विदेशी लगानीलाई रोक्छ र आर्थिक वृद्धिमा समेत बाधा पुर्‍याउन सक्छ । बिदेशीले नेपालमा आएर गर्ने कयौं अबैधानिक लगानीलाई समेत हुण्डीले सहयोग गर्छ । 
  7. अन्तमा: हुण्डीको कारोबार कसैको लागि सुविधाजनक विकल्प जस्तो लाग्न सक्छ, यसको व्यापक प्रयोगले देशको अर्थतन्त्र, सुरक्षा र समग्र कल्याणमा हानिकारक प्रभाव पार्छ । बिदेशमा बस्ने युवाहरुले १/२ हजार फाईदा हेर्दा देशको सुन तस्कर, वैदेशिक रोजगारको नाममा हुने चर्को अशुली, दररेट भन्दा कम मूल्य देखाई खर्वौँको सामान ओसारपसार गर्ने ब्यापारीहरु र भ्रष्ट नेताहरुलाई फाइदा पुगिरहेको हुन्छ । देशमा आर्थिक अपचलनले महंगी बढ्छ जुन महंगीको प्रभावमा तिनै बिदेशमा बस्ने युवाका परिवार पनि पर्ने हुन् । जसको कारण १/२ हजारको लोभले यता नेपालमा परिवारले समेत महंगीको मार खेप्नु परिरहेको कुरा पत्तो पाउंदैनन् । आर्थिक अपचलनको प्रभावले देश गरिबको गरिब भईरहन्छ । जसको कारण बिदेसिन बाध्य युवाले देश छोडेर बिदेशमा कमाउन जान्छन्, अधिकांशले अबैध बाटोबाट पैसा पठाउँछन् अनि फर्किएर आउँदा पहिलेको भन्दा गरिब र बेथितियुक्त देश पाउँछन् ।
  8. – अनिल अधिकारी 
  9. (२०८१ बैशाख ६)
  10. काठमाडौँ
Share this post to